बारामा १६ जना फरार प्रतिवादी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २९ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका १६ जना प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको छ। सम्मानित बारा जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका उनीहरूलाई प्रहरीको विशेष टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेहरूमा बैंकिङ कसूर (चेक अनादर), कुटपिट, भैँसी चोरी, सवारी अङ्गभङ्ग तथा वन सम्बन्धी मुद्दाका अभियुक्तहरू रहेका छन। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी प्रक्रियाका लागि जिल्ला अदालत समक्ष दाखिल गरिएको छ।
प्रहरीले सार्वजनिक गरेको सूची अनुसार पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, विश्रामपुर गाउँँपालिका र कलैया उपमहानगरपालिका लगायतका क्षेत्रका बासिन्दा छन।
सबैभन्दा धेरै चेक अनादर मुद्दाका प्रतिवादीहरू पक्राउ परेका छन। जसमा विकल कुमार श्रेष्ठ, उपेन्द्र चौधरी, उर्मीला देवि नुनिया, शेख अमीन, राजु ठाकुर, महमुद आलम र ईरशाद मियाँ लगायत रहेका छन । उनीहरूलाई जनही रू. १,००० देखि रू. ९,५०० सम्म जरिवाना र केहीलाई कैद सजाय समेत तोकिएको थियो ।
कुटपिट मुद्दामा फरार लालबाबु राउत अहिर र वन मुद्दामा दोषी ठहर भएका नागेश्वर प्रसाद यादव (जसलाई १ वर्ष ६ महिना कैद र ३५,००० जरिवाना तोकिएको थियो) पनि पक्राउ परेका छन।
भैंसी चोरी मुद्दाका भोला पासवान, सवारी ज्यान मुद्दाका सुरज नारायण चौधरी र सवारी अङ्गभङ्ग मुद्दाका चन्दन पासमानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं सूचना अधिकारी प्र.ना.उ. विजयराज पण्डितका अनुसार अदालतको फैसला कार्यान्वयन गराई दण्डहीनता अन्त्य गर्न प्रहरीले यो सक्रियता देखाएको हो। लुकिछिपी बसिरहेका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय सिमरा, कोल्हवी, प्रसौनी र विभिन्न प्रहरी चौकीहरूबाट टोली परिचालन गरिएको थियो।

सम्बन्धित पोस्टहरुः