वीरगंज, २९ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले चलाएको ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ अन्तर्गत वीरगंजको मुख्य प्रवेशद्वारबाट ठ्रलो परिमाणमा लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
वीरगंज महानगरपालिका वडा नं. १६ स्थित शङ्कराचार्य गेटमा रहेको चेकप्वाइन्टमा भारतबाट नेपाल पैदल तथा सवारी साधनमा आउँदै गरेका व्यक्तिहरूलाई जाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार वैशाख २८ गते दिउँसो र साँझको समयमा छुट्टाछुट्टै जाँचका क्रममा २६ वर्षीय पैयाल अन्सारीको साथबाट ०.१० मिलीग्राम खैरो हिरोइन र ४ ग्राम चरेस बरामद गरिएको छ।
यसैगरी वर्ष ३४ को सञ्जय साहबाट ०.१० मिलीग्राम खैरो हिरोइन र ४ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
वर्ष २१ को विशाल यादवको साथबाट ०.४३ मिलीग्राम खैरो हिरोइन बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफ्नो शरीर तथा सवारी साधनका विभिन्न भागमा लुकाएर लागुऔषध भित्र्याउन लागेका थिए।
पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएका उनले बताएका छन् ।







