पर्सा,३० बैशाख –
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाह ले नदिने भएपछि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन् ।
यसअघि संसद सचिवालयले प्रधानमन्त्रीले नै जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । तर प्रधानमन्त्री अनुपस्थित भएपछि सभामुखले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई बोल्न समय दिएका थिए ।
त्यसलगत्तै विपक्षी सांसदहरूले विरोध गर्दै प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल ले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने, उठेका प्रश्नको जवाफ दिने, सांसदहरूबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तथा पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसअघि हिजोको बैठकमा विभिन्न दलका नेताहरूले सम्बोधन गरेका थिए ।







