वीरगंज, ३ जेठ –
मुलुककै प्रमुख स्थल नाका वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेको छैन ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य राखिएकोमा वैशाख मसान्तसम्म १ खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ मात्रै उठेको छ । यो कुल लक्ष्यको करिब ७३ प्रतिशत हो ।
अब बाँकी दुई महिनामा करिब ७३ अर्ब रुपैयाँ राजश्व उठाउनुपर्ने भए पनि लक्ष्य भेट्टाउन कठिन देखिएको छ । वैशाख महिनामा मात्रै २३ अर्ब ८४ करोड लक्ष्य रहेकामा २१ अर्ब ७४ करोड रुपैयाँ संकलन भएको छ ।
डिजेल, एलपी ग्यास, पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चा पदार्थबाट सबैभन्दा बढी राजश्व उठेको कार्यालयले जनाएको छ ।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले लगानीमैत्री वातावरणको अभाव, आयातमा कमी, तस्करी, अवैध व्यापार तथा व्यापार सहजीकरणको कमजोरीका कारण राजश्व प्रभावित भएको बताए । उनले तस्करी नियन्त्रण, निगरानी कडा र डिजिटल प्रणाली विस्तारमा जोड दिइएको पनि जानकारी दिए ।







