आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

1200x150_1200x150-01.jpg (1)

वीरगंज २ जेठ –

सरकारले देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति र मूल्य स्थिरता कायम राख्न आवश्यक पहल भइरहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई चिनी तथा दैनिक उपभोग्य वस्तु अनावश्यक रूपमा सञ्चिति नगर्न आग्रह गर्नुभएको छ । भारतले वैशाख ३० गतेदेखि चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि सरकारले मौज्दात अवस्थाबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार देशभित्र उत्पादन भएको चिनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङसँग रहेको मौज्दातले झण्डै आठ महिनाको माग धान्न सक्छ । नेपाल चिनी उत्पादक संघले पनि उद्योगमा १ लाख ८ हजार मेट्रिक टन र बजारमा करिब २० हजार मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ ।

सरकारले बजार अनुगमनलाई कडा बनाउने र दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर बन्न उन्नत उखु खेती तथा आधुनिक प्रविधिमा जोड दिने जनाएको छ ।

सम्बन्धित पोस्टहरुः