वीरगंज , ४ जेठ –
सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) को महिला बन्दीगृहबाट फरार भएकी कैदी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ । उनलाई आइतबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असनस्थित प्रेमीको कोठाबाट फेला पारेको हो ।
नुवाकोटको विदुर नगरपालिका–१३ की २५ वर्षीया तामाङ अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैद भोगिरहेकी थिइन् । प्रहरीका अनुसार जेलमै रहँदा उनको असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग प्रेम सम्बन्ध विकसित भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रेमी श्रेष्ठकै योजना र सहयोगमा उनी कारागारबाट भागेको देखिएको छ । फरार भएपछि दुवै जना असनस्थित कोठामा बसेको अवस्थामा फेला परेका थिए ।
कारागार प्रशासनले तामाङलाई पुनः कारागार फिर्ता ल्याएर राखिएको जनाएको छ भने समीर श्रेष्ठलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्वीर







