वीरगंज , ४ जेठ –
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपालमा पनि पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य निरन्तर बढिरहेको छ । यसको असर सीमावर्ती क्षेत्रमा इन्धनको अवैध आयात तथा तस्करी बढ्दै जानुका साथै नेपाली पेट्रोल पम्पहरूको कारोबारमा समेत देखिन थालेको व्यवसायीहरू बताउँछन् ।
प्रतिनिधिसभा निर्वाचनताका पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ रहेकोमा हाल २१४ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा पुगेको छ भने एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ११० रुपैयाँ पुगेको छ ।
यता भारतका सीमावर्ती राज्यहरूमा इन्धनको मूल्य तुलनात्मक रूपमा स्थिर रहेकाले नेपाल–भारत सीमा क्षेत्रमा मूल्य अन्तर बढेको छ । अहिले बिहारमा पेट्रोल प्रतिलिटर भारतीय १०७ रुपैयाँ र डिजेल ९४ रुपैयाँमा उपलब्ध रहेको बताइएको छ ।
व्यवसायीहरूका अनुसार यही मूल्य अन्तरका कारण भारतबाट नेपालतर्फ अवैध रूपमा इन्धन भित्रिने क्रम बढेको छ । पर्सास्थित कृष्णा आयल स्टोरले फागुनसम्म दैनिक करिब एक हजार लिटर पेट्रोल र दुई हजार लिटर डिजेल बिक्री हुने गरेकोमा अहिले बिक्री उल्लेख्य रूपमा घटेको जनाएको छ ।
स्थानीय व्यवसायीहरूले कृषि तथा व्यक्तिगत प्रयोगका लागि भारतबाट इन्धन ल्याउने क्रम बढेकाले नेपाली बजार प्रभावित भएको बताएका छन् । यद्यपि सम्बन्धित निकायहरूले सीमामा निगरानी बढाइएको र अवैध कारोबार नियन्त्रणका लागि प्रयास भइरहेको बताएका छन् ।







