वीरगंजबाट सोमबार बेलुकी पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई विरुद्ध प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा राज्यविरुद्धको कसूरमा मुद्दा दर्ता गरेको छ ।
मंगलबार वीरगंजमा हुने कार्यक्रममा सहभागी हुन आएका प्रसाईलाई सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउका बेला प्रहरीले कारण खुलाएको थिएन ।
तर मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले विज्ञप्ति जारी गर्दै प्रसाईविरुद्ध उक्त कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको जनाएको छ
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार विभिन्न जातजाति तथा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने र सरकारप्रति घृणा तथा द्वेष फैलाउने खालका अभिव्यक्ति दिएको आरोपमा प्रसाईलाई नियन्त्रणमा लिइएको हो ।
सोमबार राति वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको टोलीले उनलाई होटलबाट नियन्त्रणमा लिँदा समर्थकहरूले विरोध जनाएका थिए । त्यस क्रममा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।
प्रसाईको रिहाइको माग गर्दै मंगलबार उनका समर्थकहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको प्रहरीले जनाएको छ ।







