वीरगंज , ५ जेठ –
सर्वोच्च अदालत ले राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पति संरक्षण मञ्च पर्साका अध्यक्ष जाफर अन्सारी र महासचिव मंजरुलहक मियाँ विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
अधिवक्ता प्रभाकर मण्डल ले दायर गरेको मुद्दामा न्यायाधीश महेश शर्मा पौडेल र शान्ति सिंह थापा को संयुक्त इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले जारी गरेको आदेशमा प्रेस विज्ञप्तिमार्फत अदालतको मर्यादा, निष्पक्षता र न्याय प्रशासनमा प्रतिकूल असर पर्ने गतिविधि भएको दाबी गरिएको उल्लेख छ ।
यो विवाद नेशनल मेडिकल कलेज सम्बन्धी पुरानो कानुनी प्रकरणसँग जोडिएको छ । मुद्दामा नेपाल मुस्लिम वेलफेयर सोसाइटीको नाम प्रयोग गरी कलेज दर्ता गरिएको दाबी गरिएको भए पनि विभिन्न तहका अदालतबाट विपक्षीकै पक्षमा फैसला भएको उल्लेख गरिएको छ ।







