वीरगंज , ६ जेठ –
बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुर घर भई हाल सिमरामा “घरआगन स्वीट्स” सञ्चालन गर्दै आएका व्यवसायी बिरेन्द्र साह कानु ले आफ्नै साथीबाट ठगिएको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका छन् ।
साहले आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा कार्यरत नायब सुब्बा नैमुदिन अन्सारी सँग १७ लाख रुपैयाँ सापटी लिएको र त्यसको ब्याज नियमित तिर्दै आएको दाबी गरे । तर अहिले अन्सारीले रकम दिएको स्वीकार नगरी उल्टै आफ्नो घरजग्गा कब्जा गरेको आरोप उनले लगाए ।
साहका अनुसार बैंकको कालोसूचीमा परेकाले सहमतिमै सिमरास्थित १० धुर जग्गामा बनेको घर अन्सारीकी पत्नी शब्नम खातुनको नाममा पास गरिएको थियो । त्यही क्रममा ब्ल्याङ्क चेक र अन्य चेकसमेत अन्सारीले आफूसँग राखेको उनले बताए ।
पत्रकार सम्मेलनमा भावुक बनेका साहले आफू ८७ लाख रुपैयाँ तिर्न तयार भए पनि अहिले १ करोड ४३ लाख रुपैयाँ माग गरिएको दाबी गरे ।
उनले जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालत बाराका केही कर्मचारीबाट समेत दबाब र धम्की आएको आरोप लगाए ।
न्याय नपाए परिवारसहित आत्मदाह गर्न बाध्य हुने चेतावनी दिँदै उनले निष्पक्ष छानबिनको माग गरेका छन् ।
यता नैमुदिन अन्सारीले भने आफूमाथिका सबै आरोप निराधार रहेको बताएका छन् । उनले चाँडै प्रमाणसहित आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।







