वीरगंज, ६ जेठ –
आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गतको खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ । अमेरिकाले १७० रनको लक्ष्य २७ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर १६९ रन बनायो । टोलीका मार्क वाटले सर्वाधिक ६६ रन जोडे भने अमेरिकाका रुशिल उगारकरले ४ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा अमेरिकाका स्मित पटेल र शायन जहान्गिरले समान ३७ रनको योगदान दिए । स्कटल्यान्डका बलर ज्याक जार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १–१ विकेट लिए ।
यो जितसँगै अमेरिका २७ खेलमा ३८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ३८ अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो स्थानमा छ । शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् भने अन्तिम खेलमा पर्सि नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । नेपाल २७ खेलमा २२ अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ ।







