मधेश प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित हुने अनुमान

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ६ जेठ –

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशतमात्र हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । गएको आर्थिक वर्ष मधेशले ४ दशमलव ४३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो ।

कार्यालयले सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्कअनुसार यो वर्ष राष्ट्रिय औसत आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा धेरै बागमती प्रदेशको ५ दशमलव ४० प्रतिशत र गण्डकी प्रदेशको ५ दशमलव ०१ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी कोशी प्रदेशको ३ दशमलव ३१, लुम्बिनीको २ दशमलव ८७, कर्णालीको २ दशमलव ९४ र सुदूरपश्चिमको ३ दशमलव ३८ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी रहने देखिएको छ । यस वर्ष नेपालको कुल गार्हस्थ उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएकामा बागमती प्रदेशले मात्रै ३६ दशमलव ७ प्रतिशत हिस्सा ओगट्ने उल्लेख छ ।

प्रतिव्यक्ति आयतर्फ पनि बागमती र मधेश प्रदेशबीच ठूलो अन्तर देखिएको छ । बागमतीको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिँदा मधेशको प्रतिव्यक्ति आय ९३४ डलरमात्र रहने प्रक्षेपण गरिएको छ । राष्ट्रिय औसत प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलर रहने अनुमान छ ।

सम्बन्धित पोस्टहरुः