वीरगंज , ७ जेठ –
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने तथा जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन् । सो क्रममा एमाले सांसद ऐनबहादुर महरले प्रधानमन्त्री संविधानअनुसार सदनप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाए ।
उनले संविधानको धारा ७६ को उपधारा १० अनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै जनताका आवाजको सुनुवाइ हुनुपर्ने बताए । प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावलीको व्यवस्था समेत बेवास्ता गरेको उनको भनाइ थियो ।
“कुरा नियमावलीको मात्र होइन, नियतको पनि हो । प्रधानमन्त्रीज्यूको नियत सदनलाई छल्ने र अपमान गर्ने देखिएको छ,” सांसद महरले बैठकमा भने ।
प्रधानमन्त्रीको व्यवहारले स्वेच्छाचारी प्रवृत्तिलाई प्रोत्साहन गरेको आरोप समेत एमालेले लगाएको छ ।







