वीरगंज , ८ जेठ –
सरकारले देशभर नयाँ सार्वजनिक गाडी दर्तामा रोक लगाएको छ । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले यस्तो निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागले हिजो सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीयसहित सार्वजनिक गाडीको नयाँ दर्ता रोक्न निर्देशन दिएको जनाएको छ ।
विभागका अनुसार इन्धनको बढ्दो मूल्य, सवारी साधनको अत्यधिक चाप तथा सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन यो निर्णय गरिएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐनअनुसार वातावरण प्रदूषण, सडकको अवस्था, सवारी चाप वा सार्वजनिक हितलाई ध्यानमा राख्दै विभागले आवश्यक परे सवारी दर्ता रोक्न सक्ने कानुनी व्यवस्था रहेको छ ।
विभागले अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय तत्काल लागू हुने जनाएको छ ।







