वीरगंज , ८ जेठ –
सरकारले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा जेठ १४ गते बिहीवार सार्वजनिक बिदा रहने जानकारी दिइएको हो ।
सरकारले यसअघि फागुन १८ गते राजपत्रमार्फत बकर ईदमा बिदा दिने निर्णय सार्वजनिक गरेको थियो । मुस्लिम आयोगले जेठ १४ गते ईद पर्ने जानकारी गराएपछि सोहीअनुसार बिदा कार्यान्वयन गरिएको जनाइएको छ ।
यस्तै, जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पनि सार्वजनिक बिदा रहेको छ । त्यसपछि शनिवार र आइतवार साप्ताहिक बिदा परेकाले जेठ १४ देखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ ।







