कलैयामा रास्वपा बैठक तनावग्रस्त : स्वर्णकारका समर्थकहरुको विरोध

1200x150_1200x150-01.jpg (1)

कलैया , ९ जेठ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठकमा विवाद उत्पन्न भएको छ । जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनका समर्थकले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन् ।

बारा–१ का सांसद गणेश धिमालले केही कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरे पनि निर्धारित कार्यक्रम सञ्चालन भइरहेको बताए ।

स्वर्णकार समर्थकले उनलाई निष्कासन गर्नु गलत भएको भन्दै बाराका सांसदहरूविरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रमस्थलमा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि हातपातको प्रयास भएपछि प्रहरीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो ।

कलैयाको करणराज होटलमा भइरहेको बैठकका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पार्टीबाट निष्कासित स्वर्णकारले आफू निकट कार्यकर्तालाई बेवास्ता गर्दै केही व्यक्तिलाई मात्र समेटेर जिल्ला समिति गठन गर्न खोजिएको भन्दै पुराना कार्यकर्ताले विरोध जनाएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित पोस्टहरुः