रौतहट, ९ जेठ ।
भारत, बिहार राज्य अन्तर्गत पर्ने सितामढी जिल्लामा शनिवार भारत र नेपालका सुरक्षा निकायहरूको संयुक्त बैठक सम्पन्न भएको छ । सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागीता रहेको थियो ।
नेपालको तर्पmबाट महोत्तरी, सर्लाही र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको सहभागीता रहेको थियो भने भारतको तर्पmबाट सितामढी जिल्लाका सुरक्षा अधिकारीहरू सहभागी भएका थिए ।
बैठकमा सितामढीसँग जोडिएका नेपाली सीमावर्ती नाकाहरूमा सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने तथा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि आपसी समन्वय गरेर कार्यसम्पादन गर्ने सहमति भएको छ ।
त्यस्तै, दुवै देशबीच समय–समयमा हुने गैरकानुनी मुद्रा ओसारपसार नियन्त्रणमा कडाइ गर्ने, तस्करी तथा विभिन्न अवैध गतिविधि नियन्त्रण गर्ने, अवैध मदिरा कारोवार रोक्ने, नार्काेटिक औषधि तथा लागुऔषध कारोवार नियन्त्रणमा संयुक्त रूपमा काम गर्ने निर्णय गरिएको छ ।
बैठकमा विपद् व्यवस्थापनमा आपसी सहकार्य गर्ने, दशगजा अतिक्रमण नियन्त्रण गर्ने तथा अपराध सम्बन्धी सूचना आदान–प्रदानलाई प्रभावकारी बनाएर अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति समेत भएको सहभागीहरूले बताएका छन् । यसैगरी नेपाल–भारतबीच रहँदै आएको बेटी–रोटीको सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
बैठकमा सहभागी रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले सीमासुरक्षा, अपराध नियन्त्रण र आपसी सहकार्यलाई प्रभावकारी बनाउन दुवै देशका सुरक्षा निकायहरू प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।







