वीरगंज , ९ जेठ –
पर्सा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि वीरगंजस्थित नारायणी रंगशालामा शुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलाडीहरूलाई अनुशासनका साथ आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न आग्रह गरे । प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन सुरक्षा, व्यवस्थापन तथा प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
पर्सा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगितामा वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दोलगायत विभिन्न खेल समावेश गरिएको छ । छात्र–छात्राबीचको प्रतिस्पर्धाले खेल प्रतिभा पहिचान तथा जिल्लामा खेलकुद विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रतिनिधि, खेल पदाधिकारी, प्रशिक्षक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।







