वीरगंज , ९ जेठ –
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले शनिबार वीरगंज भन्सार कार्यालय मातहतका विभिन्न संरचनाको निरीक्षण गरेकी छन् ।
मन्त्री यादवले उद्योग मन्त्रालयका सचिवसहितको टोलीसँग वीरगंज महानगरपालिका–१७ अलौस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) तथा वीरगंज–२५ सिर्सियास्थित सुख्खा बन्दरगाह कार्यालयको अनुगमन गरेकी हुन् ।
निरीक्षणका क्रममा मन्त्री यादवले मालसामान आयात–निर्यातको अवस्था, भन्सार प्रक्रिया, जाँच प्रणाली तथा सेवा प्रवाहबारे जानकारी लिएकी थिइन् । उनले भन्सार अधिकारीहरूसँग मालवस्तुको परीक्षण, एक्सरे मेसिनमार्फत जाँच प्रक्रिया तथा भन्सार कार्यालयको कार्यसम्पादनबारे छलफल समेत गरेका थिइन् ।
मन्त्री यादवले भन्सार नाकाबाट भित्रिने मालसामानको प्रभावकारी परीक्षण र पारदर्शी सेवा प्रवाहमा जोड दिएकी थिइन् ।
वीरगंजको निरीक्षणपछि मन्त्रीसहितको टोली बाराको सिमरास्थित निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) तथा मकवानपुरको हेटौंडा सिमेन्ट उद्योगको समेत अनुगमन गरी काठमाडौं फर्किएको जनाइएको छ ।







