वीरगंज , ९ जेठ –
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् ।
आइतबार भएको विस्फोटपछि रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुईवटा डिब्बा पल्टिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट निकै शक्तिशाली भएकाले आसपासमा पार्क गरिएका सवारी साधन तथा नजिकका घरहरूमा समेत क्षति पुगेको छ ।
घटनालगत्तै सेना र प्रहरीको टोली घटनास्थलमा परिचालित गरिएको छ । अधिकारीहरूले विस्फोटको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेका छैनन् ।
पाकिस्तानका रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले घटनाको कडा शब्दमा निन्दा गरेका छन् । रेलवे प्रवक्तामार्फत जारी विज्ञप्तिमा क्वेटा क्यान्टबाट आएको शटल ट्रेन चमन गेट नजिक विस्फोटमा परेको उल्लेख गरिएको छ ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।







