बागमती नदीमा डुबेर बेपत्ता दुई युवक मृत फेला

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १० जेठ –

सर्लाहीमा बागमती नदी तर्ने क्रममा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् ।

शनिबार रौतहट र सिन्धुलीको सिमाना झप्सी क्षेत्रमा नदी तर्ने क्रममा लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षीय रोहित महतो र लालबन्दी नगरपालिका–६ का अन्दाजी २० वर्षीय गणेश महतो बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार खोजतलासका क्रममा दुवै जनाको शव आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेला परेको हो ।

उक्त घटनामा बरहथवा नगरपालिका–५ का सहमद मोमिन, मोहम्मद अख्तर र ब्रहमपुरी गाउँपालिका–३ का श्याम भण्डारीलाई समेत नदीले बगाएको थियो । उनीहरू भने केही दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर सुरक्षित निस्कन सफल भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार उनीहरू शनिबार बिहान घुम्न निस्किएका थिए ।

मृतक दुवै युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनापछि गाउँभर शोक छाएको छ ।

सम्बन्धित पोस्टहरुः