वीरगंज , १२ जेठ –
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनअन्तर्गत वैशाख महिनामा मधेश प्रदेशका जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको छ ।
उत्कृष्ट कार्यसम्पादन गरेबापत जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले उनलाई सम्मान प्रदान गरेका हुन् ।
प्रहरी कार्यालय पर्साले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, अनुसन्धान, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा सम्मान प्राप्त गरेको जनाइएको छ ।
सम्मानपछि एसपी पाठकले पर्सावासी नागरिक, प्रहरी कर्मचारी तथा सरोकारवालाको सहयोगकै कारण सफलता हासिल भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पर्साले सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रण अभियान तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई सक्रिय रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।







