वीरगञ्ज, ११ जेठ –
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुर अन्तर्गत अभियोग दर्ता गरेको हो ।
प्रसाईंलाई जेठ ४ गते पर्साको वीरगञ्जस्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतमा उपस्थित गराइएपछि उनका समर्थकहरूले अदालत परिसर अगाडि नाराबाजी गरेका थिए ।
प्रहरीका अनुसार विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिका आधारमा अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले महिलामाथि अपमानजनक अभिव्यक्ति दिएको तथा सेना र प्रहरीजस्ता राज्य निकायप्रति अशोभनीय टिप्पणी गरेका छन् ।
प्रसाईंले एक युट्युब अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै समूहले सञ्चालन गरिरहेको दाबी गरेका थिए । साथै हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिएका थिए ।
उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतमाथि पनि विवादास्पद टिप्पणी गरेको प्रहरीले जनाएको छ ।







