वीरगंज, १२ जेठ –
पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले इलाका प्रशासन कार्यालय सुपौलीमा देखिएको अव्यवस्था र सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति चासो व्यक्त गर्दै आकस्मिक अनुगमन गरेका छन् ।
नागरिकहरूले लामो समय लाइनमा बस्नुपर्ने, कर्मचारी समयमै उपस्थित नहुने तथा सेवा प्रभावकारी नभएको गुनासो आएपछि सांसद शाक्यले सोमबार कार्यालय पुगेर अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा सेवाग्राहीहरूले घाममा लामो समय कुर्नुपरेको, कार्यालय अस्तव्यस्त रहेको र कर्मचारी अभावका कारण समस्या भइरहेको बताएका थिए ।
सांसद शाक्यले कार्यालय प्रमुखसँग छलफल गर्दै सेवा प्रवाह सुधार गर्न, ढिलासुस्ती अन्त्य गर्न तथा सेवाग्राहीलाई सहज वातावरणमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।







