वीरगंज, १२ जेठ –
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी बजेटमा वीरगन्जस्थित नारायणी रंगशाला र नारायणी अस्पताललाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले मुलुकको ठूलो राजस्व योगदान गर्ने वीरगन्ज सधैं विकास बजेटमा उपेक्षित हुँदै आएको आरोप लगाए ।
उनले वीर अस्पतालभन्दा कान्छो नारायणी अस्पताल र दशरथ रंगशालापछिकै ठूलो नारायणी रंगशालालाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।
सांसद पन्तले सानो पाइला सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रिया छिटो अघि बढाउन तथा गण्डकदेखि वीरगन्ज भन्सारसम्मको मेनरोड क्षेत्रमा भएको डोजर कारबाहीबाट प्रभावित नागरिकको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।







