खुला सीमासँगै पर्सामा लागुऔषध तस्करी बढ्दो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १३ जेठ –

भारतसँगको खुला सीमाका कारण पर्सामा लागुऔषध सेवन र तस्करी दुवै बढ्दै गएको पाइएको छ। पर्सा प्रहरीले वैशाख महिनामा मात्रै ३१ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उक्त अवधिमा ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेट बरामद गरिएको छ।

गत शनिबार राति प्रहरीले ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको थियो। त्यसअघि पनि शंकराचार्य गेट लगायत विभिन्न स्थानबाट खैरो हेरोइन, सेतो हेरोइन र प्रतिबन्धित औषधिसहित धेरै व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका तस्कर पक्राउ परिरहेका छन्। वीरगंज कारागारमा रहेका कैदीबन्दीमध्ये झण्डै आधा लागूऔषध मुद्दाका रहेको प्रहरीको तथ्यांक छ।

प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले खुला सीमा, वैज्ञानिक परीक्षण प्रणालीको अभाव र भारतमा प्रतिबन्धित औषधि सहज उपलब्ध हुनु नियन्त्रणमा मुख्य चुनौती बनेको बताए। सामाजिक अभियन्ताहरूले पनि सीमावर्ती क्षेत्रमा लागुऔषध समस्या गम्भीर बन्दै गएको भन्दै दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन्।

सम्बन्धित पोस्टहरुः