वीरगंजमा स्वच्छ चुलो कार्यक्रम सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा बुधवार वीरगंजमा स्वच्छ चुलो कार्यक्रम सम्पन्न भएको छ।

स्वच्छ चुलो अन्तर्गत सुधारिएको चुलो, बायोग्याँस (गोबर ग्याँस) र विद्युतीय चुलो (इन्डक्सन) का बारेमा केन्द्रका गौरव दाहालले जानकारी गराएका थिए। उनले चुलोका बारेमा सरोकारवालाहरूलाई सचेतना गराउनुपर्ने, उनीहरुको यसमा पहुँच बढाउनुपर्ने र यसका लागि महिला लक्षित कार्यक्रम सञ्चालनमा स्थानीय पालिकाहरूले जोड दिनुपर्ने सुझाए। उनले खासगरी तराई-मधेसका २२ जिल्लाका १५० वटा पालिका र कर्णाली प्रदेशलाई लक्षित गरेर यो कार्यक्रम हालका दिनमा सञ्चालनमा रहेको जानकारी गराए। उनले तराई-मधेसमा मात्रै आगामी पाँच वर्षमा १० लाखवटा सुधारिएको चुलो, गोबर ग्याँस र इन्डक्सनको विक्री लक्ष्य राखिएको बताए। उनले खाना पकाउने ग्याँसमा भर नपर्नुपर्ने, वनजङ्गलका रुखहरू जोगिने र वायु प्रदूषण रोक्नमा सघाउन पुग्नुका साथै घर-गृहस्थीमा पनि स्वास्थ्यको दृष्टिकोणले तथा सुरक्षाको लागि उपयोगी हुने दाबी गरे ।

केन्द्रका डा नवराज सञ्जेलले हाल तराई-मधेसका १५० वटै पालिकामा यो कार्यक्रम पुगिसकेको र यसबाट पालिकामार्फत स्थानीयहरू लाभ उठाइरहेको बताए । उनले सरकारले सहुलियतमा प्रदान गर्ने र पालिकाहरूले पनि न्यूनतम रकममा सेवाग्राहीहरुलाई उपलब्ध गराउँदै आएको बताए। उनले ११ हजारवटा इन्डक्सनमध्ये छ हजारवटा वितरण भएको र पाँच हजारवटा वितरणको क्रममा रहेको बताए ।

यसैगरी, गोबर ग्याँस २२० वटा निर्माण भएका र ९७ वटा निर्माणको क्रममा रहेको बताए। उनले गोबर ग्याँस र सुधारिएको चुलो नेपालमा सम्भव रहेको तर इन्डक्सन भने टेण्डरबाट खरीद गर्नुपर्दा बेलाबखत समस्या हुने गरेको बताए ।

कार्यक्रममा पर्सा जिल्लाको जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादवले आफ्नो पालिकामा चुलोका लागि रकम सङ्कलन गरी केन्द्रमा पठाएको तर अहिलेसम्म चुलो उपलब्ध नभएर वितरण हुन नसक्दा समस्या भएको बताए ।

यसैगरी, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले आफ्नो पालिकामा धेरै इन्डक्सन वितरण भएको तर प्रयोगमा कम रहेको बताए। उनले तालीम पुरुषले लिने तर घर-गृहस्थमा भान्सा महिलाले हेर्ने हुँदा पनि प्रयोगमा समस्या भएको बताए। उनले इन्डक्सन विद्युतीय उपकरण भएको र यसको प्रयोगमा जोखिम बढी हुने गरेको भ्रम व्याप्त भएकोले यसबारेमा सचेतना आवश्यक भएको सुझाए ।

पत्रकार अनिल तिवारीले गाउँदेहातमा विद्युतीय तारहरू कमसल प्रयोग हुने र सामान्यतया छ एम्पियरको विद्युत् क्षमता राखिने तर यसका लागि १५ एम्पियर क्षमता र सोही अनुसारको तार आवश्यक हुने भएको र यसबारेमा ध्यानाकर्षण गराएका थिए। उनले यी चुलोहरु बिग्रिएको खण्डमा सहज मर्मत व्यवस्थापन नभएकोले पनि प्रयोग बढ्न नसकेको बताए ।

पटेर्वा सुगौली उपाध्यक्ष ममता महतोको अध्यक्षतामा भएको कार्यक्रममा हस्क पावर स्टोभका सञ्चालक मनोज गुप्ता, इन्जिनीयर सुरज कुमार, केन्द्रका महानन्द चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा पर्सा, बारा, रौतहट र सर्लाहीका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः