वीरगंज, १४ जेठ –
वीरगंज महानगर क्षेत्रमा पछिल्लो समय देह व्यापारका गतिविधि बढ्दै गएको पाइएको छ। होटल, कटेज, रक्सी पसलदेखि निजी घरसम्म यौन व्यवसाय सञ्चालन भइरहेको सूचनापछि प्रहरीले निगरानी कडा बनाएको छ।
बुधबार साँझ वडा नम्बर ११ को झाँझी टोलस्थित एक घरमा देह व्यापार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुई पुरुष र तीन महिला रहेका छन्।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा गएको टोलीले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यस्तै नयाँ बसपार्क क्षेत्रमा होटल व्यवसायी र महिला यौनकर्मीबीच विवाद भएको सूचनापछि वडा प्रहरी कार्यालय बिर्ताले पनि एक पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको छ।
स्थानीय व्यवसायीहरूले प्रहरीको प्रभावकारी अनुगमन अभावका कारण होटल तथा कटेजहरूमा अवैध गतिविधि बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले यस्ता गतिविधिका कारण समाजमा असुरक्षा र विवाद बढ्दै गएको बताएका छन्।







