वीरगंज, १४ जेठ –
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि देखिएको विवाद समाधानका लागि पहल थालेका छन् ।
सांसद पन्तले बिहीबार त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. डा. सुशीलबहादुर बज्राचार्यसँग भेट गरी क्याम्पसको वर्तमान अवस्था र देखिएको गतिरोधबारे छलफल गरेका हुन्।
भेटका क्रममा निमित्त उपकुलपति बज्राचार्यले क्याम्पसमा देखिएको विवाद समाधानका लागि छानबिन समितिमार्फत चाँडै निकास निकालिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सांसद पन्तका अनुसार विश्वविद्यालयले मूल विधानअनुसार क्याम्पस सभा तथा व्यवस्थापन समिति गठन गरी नियमित पठनपाठन र प्रशासनिक गतिविधि सञ्चालन गर्ने वातावरण बनाउने जनाएको छ।
लामो समयदेखिको व्यवस्थापन र प्रशासनबीचको विवादका कारण क्याम्पसको शैक्षिक वातावरण प्रभावित हुँदै आएको छ। यसले विद्यार्थीहरूको पढाइ र भविष्यसमेत अन्योलमा परेको भन्दै स्थानीय स्तरमा चिन्ता बढिरहेको छ।
यसबीच जनप्रतिनिधिको तर्फबाट विवाद समाधानका लागि पहल सुरु भएकोलाई सकारात्मक रूपमा हेरिएको छ।







