वीरगंज, १५ जेठ –
सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको पहिलो बजेट भएकाले यसप्रति सर्वसाधारणको विशेष चासो देखिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दिउँसो संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। चालु आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब रुपैयाँको तुलनामा यसपटक २ देखि ३ खर्ब रुपैयाँसम्म ठूलो आकारको बजेट आउने अनुमान गरिएको छ।
सरकारले बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। रास्वपाले सार्वजनिक गरेको वाचापत्रअनुसार १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने तथा अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबर पुर्याउने लक्ष्यअनुसार कार्यक्रम समेटिने तयारी गरिएको छ।
स्रोतको दबाबका कारण सामाजिक सुरक्षा भत्ता नबढाइने संकेत गरिएको भए पनि निजामती कर्मचारीको तलब वृद्धि र अधिकांश सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराउने योजना बजेटमा समावेश हुने बताइएको छ।
त्यस्तै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई आवश्यक स्रोत उपलब्ध गराउने तथा कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका मुख्य आधारका रूपमा अघि बढाउने तयारी गरिएको छ।
यसैबीच संघीय संसद् सचिवालयले बजेट प्रस्तुत हुने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा दिउँसो ४ बजे संयुक्त बैठक बस्नेछ। नयाँ संसद् भवनको काम अझै पूरा नभएकाले पुरानै हलबाट बजेट प्रस्तुत गर्न लागिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।







