वीरगंज , जेठ १५ –
नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय भवन निर्माण कार्यको शुक्रबार एक समारोहबीच शिलान्यास गरिएको छ । मधेस प्रदेश सरकारका गृह, सूचना तथा सञ्चार मन्त्री फकिरा महतो र नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन ।
जनकपुरधाममा आयोजित कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शिलान्यासअघि वैदिक विधिअनुसार पूजा–अर्चना गरिएको थियो ।
कार्यक्रममा मन्त्री महतोले लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै पत्रकार महासंघको आफ्नै भवन निर्माण हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गरे । उनले पत्रकारहरूको पेशागत हकहित र सुरक्षित कार्य वातावरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले भवन निर्माणपछि पत्रकारहरूको गतिविधि थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै निर्माण कार्य समयमै सम्पन्न गरिने बताए।
महासंघका मधेस प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरवका अनुसार मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटअन्तर्गत विनियोजित २० लाख रुपैयाँको लागतमा तत्काल दुई कोठे भवन निर्माण गरिने लक्ष्य राखिएको छ ।







