मधेस प्रदेश राष्ट्रपति रनिङ शिल्ड छनोटमा सर्लाही च्याम्पियन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

मधेस प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि सर्लाहीले जितेको छ । बाराको सिमरा रंगशालामा सम्पन्न प्रतियोगितामा सर्लाहीले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

सर्लाहीले विशेषगरी एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै १५ स्वर्ण, १३ रजत र ४ कास्य पदक जितेर वर्चस्व कायम गरेको थियो । घरेलु टोली बारा १६ स्वर्ण, ९ रजत र १२ कास्यसहित दोस्रो स्थानमा रह्यो । बाराले तेक्वान्दोमा ७ तथा एथलेटिक्समा ६ स्वर्ण पदक जितेको थियो ।

सिरहा ८ स्वर्णसहित तेस्रो, महोत्तरी ४ स्वर्णसहित चौथो तथा सप्तरी ३ स्वर्णसहित पाँचौं स्थानमा रहे । धनुषा छैटौं हुँदा पर्साले स्वर्ण पदक जित्न नसके पनि ४ रजत र १० कास्यसहित सातौं स्थान सुरक्षित गरेको छ । रौतहट १ स्वर्णसहित आठौं स्थानमा सीमित भयो ।

जेठ १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका ७ सय ५२ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएको थियो ।

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने १ सय २४ जना खेलाडी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएका छन् । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइने मधेस प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजी गुप्ताले जानकारी दिएका छन् ।

समापन समारोहमा विजेता खेलाडीलाई मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेललगायतले पुरस्कार वितरण गरेका थिए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः