वीरगंज , जेठ १७ –
उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले बजार अनुगमन तथा खाद्य स्वच्छता सम्बन्धी कार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायसँग माग गरेको छ ।
मञ्चले जारी गरेको विज्ञप्तिमा स्वस्थ र गुणस्तरीय खाद्यवस्तु प्राप्त गर्नु प्रत्येक नागरिकको अधिकार भएको उल्लेख गर्दै खाद्यवस्तुको उत्पादन, परीक्षण र अनुगमनमा सम्बन्धित निकायको जिम्मेवारी अझ प्रभावकारी हुनुपर्ने जनाएको छ ।
मञ्चले बजारमा गुणस्तरहीन तथा मापदण्डविपरीतका खाद्यवस्तुको बिक्री–वितरण रोक्न नियमित अनुगमन आवश्यक रहेको बताएको छ । साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गर्दै आएको “मोबाइल न्याय स्थान” कार्यक्रम मधेश प्रदेशका आठवटै जिल्लामा सञ्चालन गर्न माग गरिएको छ ।
मञ्चका अध्यक्ष सुनील कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरोकारवाला निकायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।







