वीरगंज , जेठ १७ –
राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा हालसम्म करिब ८३ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना कार्यालय बाराका अनुसार जिल्लाभर गणक तथा सुपरिवेक्षक टोली सक्रिय रूपमा खटिएको छ ।
जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र महागढीमाई नगरपालिकामा उल्लेखनीय प्रगति भएको छ भने औद्योगिक तथा व्यापारिक क्षेत्रमा तथ्याङ्क संकलन जारी छ ।
आर्थिक गणनाअन्तर्गत उद्योग, व्यापार, सेवा, निर्माण, यातायात, होटल, शिक्षा, स्वास्थ्य, बैंक तथा बीमा लगायतका क्षेत्रका आर्थिक गतिविधिको विवरण संकलन भइरहेको छ । जिल्लामा ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरिएको कार्यालयले जनाएको छ ।
तथ्याङ्क ऐन, २०७९ अनुसार संकलित विवरण पूर्ण रूपमा गोप्य रहने र केवल सांख्यिकीय प्रयोजनका लागि प्रयोग गरिने कार्यालयले स्पष्ट पारेको छ ।
कार्यालयका अनुसार बाँकी विवरण संकलन कार्य तीव्र गतिमा भइरहेको छ र तोकिएको समयसीमा अर्थात् असार ७ गतेभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।







