मिटरब्याज पीडितको संघर्ष समिति गठनको तयारी

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, जेठ १७ गते – मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन नेपाल, जिल्ला समिति पर्साले मिटरब्याज पीडितको न्याय, सुरक्षा र अधिकार सुनिश्चित गर्न आन्दोलनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको छ। वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा समितिले आन्दोलनलाई गाउँ, टोल र पालिका स्तरसम्म विस्तार गर्ने र विभिन्न तहका संघर्ष समिति गठन गर्ने तयारी गरेको जानकारी दिएको हो।

समितिका अध्यक्ष कृष्णराज ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा मिटरब्याजका कारण हजारौँ परिवार आर्थिक, सामाजिक र मानसिक रूपमा पीडित बनेको उल्लेख छ। विज्ञप्तिमा पीडितको सम्पत्ति हडप्ने, अत्यधिक ब्याज असुल्ने र आर्थिक शोषणका घटनाले समाजमा गम्भीर समस्या सिर्जना गरेको भनिएको छ।

पत्रकार सम्मेलनमा समितिका सचिव शम्भु प्रसाद यादव, सल्लाहकार गोवर्धन प्रसाद यादव, सदस्य सिकेन्द्र यादव, राजकुमार पासवान, रेश्मी देवी, केशव यादव र वित्तीय शोषणविरुद्धको किसान मजदुर आन्दोलनका अध्यक्ष हिरा साहलगायतको उपस्थिति थियो।

पीडितको विवरण संकलन र कानुनी सहयोग
सम्मेलनले मिटरब्याज सम्बन्धी सम्पूर्ण विवरण संकलन गरी पीडितको वास्तविक अवस्था सार्वजनिक गर्ने निर्णय गरेको छ। पीडितको अधिकार र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने र आवश्यक कानुनी सहयोग उपलब्ध गराउने समितिको प्रतिबद्धता छ।

आन्दोलनलाई तल्लो तहसम्म लैजान जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म पीडितको आवाज पुर्‍याउने रणनीति बनाइएको सचिव शम्भु प्रसाद यादवले बताए।

सम्बन्धित पोस्टहरुः