वीरगंज, जेठ १८ –
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले पर्सा जिल्ला अदालत परिसरबाट सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय लगेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले सोमबार बिहान अदालत परिसरबाट घिमिरेलाई लिएर गएको हो । मेयर सिंहविरुद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा जारी पक्राउ पुर्जीका विषयमा कानुनी प्रक्रिया बुझ्न अदालत पुगेका बेला उनलाई प्रहरीले सोधपुछका लागि लगेको बताइएको छ ।
मेयरका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार घिमिरे अदालतमा कानुनी प्रक्रिया बुझ्न गएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले भने घिमिरेलाई नियन्त्रण वा पक्राउ नगरी सोधपुछका लागि मात्र ल्याइएको बताएका छन् ।
यसअघि पर्सा जिल्ला अदालतले नागरिकता लिखतसम्बन्धी मुद्दामा मेयर सिंह, उनकी पत्नी रिता भट्टराई तथा तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त मुद्दामा मेयर सिंहले अदालतसँग समन्वयमा रही न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका छन् ।







