मेडिकल लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज उत्कृष्ट

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २१ –

नेपाल मेडिकल काउन्सिल ले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको लाइसेन्सिङ परीक्षाको कलेजगत नतिजा सार्वजनिक गरेको छ। काउन्सिलले जेठ १९ गते सार्वजनिक गरेको विवरणअनुसार एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

एमबीबीएसतर्फ चितवन मेडिकल कलेज उत्कृष्ट नतिजासहित पहिलो स्थानमा रहेको छ। उक्त कलेजबाट परीक्षामा सहभागी ५८ जनामध्ये ५४ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ९३.१० रहेको छ। दोस्रो स्थानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ, जहाँ ७७ जनामध्ये ७१ जना उत्तीर्ण हुँदै ९२.२१ प्रतिशत नतिजा हासिल भएको छ। तेस्रो स्थानमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रहेको छ, जहाँ ८८ जनामध्ये ७९ जना उत्तीर्ण भएका छन्।

त्यसैगरी केयू स्कूल अफ मेडिकल साइन्सेज ८८.७३ प्रतिशत, गण्डकी मेडिकल कलेज ८६.२७ प्रतिशत, नेपालगञ्ज मेडिकल कलेज ८५.७१ प्रतिशत तथा नेपाल मेडिकल कलेज ८५.२५ प्रतिशत उत्तीर्ण दरसहित शीर्ष स्थानमा रहेका छन्।

बीडीएसतर्फ भने गण्डकी मेडिकल कलेज ले शतप्रतिशत नतिजा निकाल्दै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। परीक्षामा सहभागी १२ जनामध्ये सबै १२ जना उत्तीर्ण भएका छन्। दोस्रो स्थानमा नेपाल मेडिकल कलेज रहेको छ, जहाँ ३८ जनामध्ये ३७ जना उत्तीर्ण भएका छन्। तेस्रो स्थानमा केयू स्कूल अफ मेडिकल साइन्सेज रहेको छ, जहाँ ४३ जनामध्ये ४१ जना उत्तीर्ण भएका छन्।

यस्तै महाराजगञ्ज मेडिकल क्याम्पस, काठमाडौँ मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज र कान्तिपुर डेन्टल कलेज ले पनि उच्च उत्तीर्ण प्रतिशत हासिल गरेका छन्।

नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा चिकित्सक तथा दन्त चिकित्सकका रूपमा व्यावसायिक अभ्यास गर्न अनिवार्य मानिन्छ। यस वर्षको नतिजाले केही मेडिकल तथा डेन्टल कलेजको शैक्षिक गुणस्तर र तयारीको स्तरलाई स्पष्ट रूपमा देखाएको छ।

सम्बन्धित पोस्टहरुः