मकैवारीमा खेल्ने क्रममा सर्पले टोकेर बालकको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २१ जेठ। बाराको पचरौता नगरपालिकामा सर्पले टोक्दा एक १९ महिनाका बालकको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा पचरौता नगरपालिका वडा नम्बर ४ बेल्दारी बस्ने सञ्जय रामका १९ महिनाका छोरा धनजय राम रहेका छन्।
प्रहरीका अनुसार बुधवार (जेठ २० गते) बिहान १०ः०० बजेको समयमा बालककी आमा ३० वर्षीया सोनापती देवी राम आफ्नो १९ महिनाको छोरा धनजयलाई साथमा लिएर स्थानीय रविन्द्र यादवको मकै खेतमा ज्यालादारी काम गर्न गएकी थिइन्। आमाले मकैवारीमा काम गरिरहेको र बालक सोही वारीमा खेलिरहेको अवस्थामा धनजयको दाहिने खुट्टामा विषालु सर्पले टोकेको थियो।
सर्पको टोकाइबाट बालक गम्भीर बिरामी परेपछि दिउँसो २ः०० बजे उपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएको थियो। अस्पताल पु–याउनासाथ चिकित्सकहरूले ईसीजी गरी जाँच गर्दा बालकको अस्पताल ल्याउने बाटोमै मृत्यु भइसकेको घोषणा गरेका थिए।
अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत घटनावारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारी बाराबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) सुनील यादवको कमाण्डमा विशेष प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेर घटनावारे थप बुझ्ने कार्य गरेको थियो। घटना घटेको मकैवारी बेल्दारी प्रहरी चौकीबाट करिब २ किलोमिटर पूर्व पर्दछ।
प्रादेशिक अस्पताल कलैयामा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बुधवार बेलुका ६ः०० बजे मृतक बालकको शव उनका हजुरबुवा रामरेख रामले बुझिलिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गर्मी र वर्षायाम शुरू भएसँगै खेतवारीमा काम गर्दा र बालबालिकाहरूलाई खुला ठाउँमा छोड्दा सर्पदंशको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः