वीरगंज, २१ जेठ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ८२ वर्षीय कृष्ण बल मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार बिहीबार (जेठ २१ गते) बिहान करिब ९:०० बजेको समयमा जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै रहेको काँसघारीमा बलको शव स्थानीय नागरिकहरूले फेला पारेका थिए । काँसघारीमा शव देखेपछि स्थानीयले तत्कालै इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा जानकारी गराएका थिए ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी अधिकृतसहितको विशेष टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक जाँचबुझ तथा मुचुल्का उठाउने कार्य सम्पन्न गरेको छ ।
मृतक बल विगत २ दिनदेखि आफ्नो घरपरिवारसँग सम्पर्कविहीन (बेपत्ता) रहेको र उनी पहिलेदेखि नै उच्च रक्तचाप (प्रेसर) को बिरामी रहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटनास्थलको कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो । अस्पतालमा पोस्टमार्टम गरिएपश्चात बिहीबार नै मृतकका छोरा सूर्य लामाले शव बुझिलिइसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





