बजेट कार्यान्वयनमा जुट्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ ले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरण का पदाधिकारीलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल काममा जुट्न निर्देशन दिएका छन्।

प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रम निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक समस्या समाधानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए।

उनले आगामी आर्थिक वर्षमा प्रसारण लाइन, सबस्टेशन तथा विद्युत पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै तोकिएको समयमै आयोजना सम्पन्न हुने गरी कार्ययोजना तयार गर्न निर्देशन दिए।

मन्त्री श्रेष्ठले प्राधिकरणका अधिकारीहरूलाई आफ्नो अनुभव, दक्षता र क्षमताको अधिकतम उपयोग गर्न आग्रह गर्दै समस्या पहिचानसँगै समाधानका ठोस प्रस्ताव पनि व्यवस्थापनबाट आउनुपर्ने बताए।

“यसपटक प्राधिकरणले माग गरेअनुसारको बजेट पाएको छ। अब त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा गुणस्तरीय र दिगो विद्युत आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणकै हो,” उनले भने।

छलफलमा विद्युत महसुल बक्यौता असुली, संस्थागत सुशासन सुदृढीकरण, परिणाममुखी कार्यसम्पादन तथा प्राथमिकताका आयोजना छनोटका विषयमा पनि चर्चा भएको थियो।

प्राधिकरणका उपकार्यकारी निर्देशकहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रअन्तर्गतका आयोजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै असार १५ भित्र विस्तृत कार्ययोजना तयार गरी सञ्चालक समितिमा पेश गर्ने तयारी रहेको जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः