वीरगंज, जेठ २३ –
मानव जीवन बचाउन तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले वीरगंजको घण्टाघर चौकमा शनिबार बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।
मञ्चका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले रक्तदानलाई मानव सेवाको उत्कृष्ट कार्य भएको उल्लेख गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्वबोधका साथ रक्तदानमा सहभागी हुन आग्रह गरेका थिए।
आयोजक संस्थाले कार्यक्रममा सहभागी रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






