वीरगंज, जेठ २३ –
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका वीरगंज महानगरपालिकाका सामुदायिक विद्यालयका २२ जना विद्यार्थीलाई सम्मान गरेको छ।
वीरगंज पब्लिक कलेजको सभाहलमा आयोजित कार्यक्रममा महानगरभित्रका सामुदायिक माध्यमिक विद्यालयमध्ये प्रत्येक विद्यालयबाट सर्वाधिक जीपीए प्राप्त गर्ने छात्र–छात्रालाई नगद, कदरपत्र र खादा प्रदान गरी सम्मान गरिएको हो।
प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षता तथा वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न शैक्षिक, सामाजिक तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले सामुदायिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेर शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए। उनले आगामी वर्षदेखि यस्ता विद्यार्थी सम्मान कार्यक्रम महानगरपालिकाले पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिष्ठानले विद्यार्थीहरूको प्रतिभा र मेहनतलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जनाएको छ।






