वीरगंज, जेठ २३ –
पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
शनिबार गाउँपालिका वडा नम्बर ३ स्थित कृषि भवनको सभाहलमा आयोजित १७ औँ गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले कृषि विकाससँगै शिक्षा, स्वास्थ्य, महिला तथा युवा सशक्तीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताए। उनले सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र पारदर्शी बनाइने तथा विकास निर्माणका कार्यलाई तीव्रता दिइने उल्लेख गरे।
गाउँसभामा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, शिक्षक प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।






