वीरगंज, जेठ २४ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर दुई पक्षबीच भएको विवाद झडपमा परिणत भएको छ। आइतबार हुने जिल्ला अधिवेशनका लागि वीरगंज–९ स्थित होटल गेट वेमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला कार्यकर्ताहरूबीच हानाहान भएको हो।
झडपमा महादेवप्रसाद कुर्मी, गौतम श्रेष्ठसहित तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठीचार्ज समेत गरेको थियो।
विवादको मूल कारण जिल्ला अधिवेशनका प्रतिनिधि चयनलाई मानिएको छ। असन्तुष्ट पक्षले जिल्ला सभापति तथा सांसद हरि पन्त निकट समूहले पार्टीको विधान र पद्धति मिचेर आफ्ना समर्थकलाई प्रतिनिधि बनाएको आरोप लगाउँदै अधिवेशन स्थगित गर्न माग गरेको थियो। सोही विषयमा महादेवप्रसाद कुर्मी, सुधिर पटेल र राम आर्यलगायतको टोलीले मधेश प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्रमा विभागीय प्रतिनिधि छनोट, मनोनयन प्रक्रिया तथा निर्णय विवरण सार्वजनिक गर्न माग गरिएको थियो। निर्वाचन समितिले उक्त मागमाथि छलफलका लागि दुई घण्टा निर्वाचन प्रक्रिया स्थगित गरे पनि पुनः प्रक्रिया सुरु भएपछि विवाद चर्किएको थियो।
प्रत्यक्षदर्शीका अनुसार होटलभित्र सुरु भएको विवाद सडकसम्म पुगेको थियो। दुवै पक्षका कार्यकर्ताले एकअर्कामाथि हेलमेटसमेत प्रहार गरेका थिए। त्यसपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको थियो।
निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले झडपपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको र आइतबार बिहान ८ बजेदेखि पुनः सञ्चालन गरिने जानकारी दिए।
पर्सामा पालिका अधिवेशनदेखि नै देखिएको गुटगत विवाद जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा थप सतहमा आएको छ। एक पक्षको नेतृत्व संस्थापक जिल्ला सभापति तथा सांसद हरि पन्तले गरिरहेका छन् भने अर्को पक्षमा सांसद सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य रहेका छन्।
जिल्ला सभापतिको दौडमा हरि पन्त र सुशील साह कानु प्रमुख दाबेदारका रूपमा देखिएका छन्। आन्तरिक विवादबीच आइतबार हुने जिल्ला अधिवेशनलाई लिएर रास्वपा पर्साको राजनीति थप तातिएको छ।






