पर्सा–बाराका होटल र मिठाई पसलमा खाद्य स्वच्छता मापदण्ड उल्लंघन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २४ –

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको पहलपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पर्सा र बारामा मोबाइल फुड ल्याब भ्यानमार्फत खाद्य अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमा खाद्य स्वच्छता मापदण्ड पालना नभएको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका प्रमुख सुरेश सिंहको नेतृत्वमा खटिएको टोलीले वीरगंज, अमलेखगञ्ज, निजगढ र कलैयाका विभिन्न व्यवसायमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा सरसफाइको कमजोर अवस्था, खुला डस्टविनको प्रयोग, खाद्य सामग्रीको असुरक्षित भण्डारण तथा पटक–पटक तताइएको तेल प्रयोग भएको भेटिएको विभागले जनाएको छ।

वीरगंजका अनमोल स्विट्स, होटल मकालु, होटल पुजन र मेजवानी स्विट्ससहित अन्य व्यवसायमा मापदण्ड विपरीतका गतिविधि फेला परेपछि प्रयोगमा रहेको तेल नष्ट गरी सुधारका लागि निर्देशन दिइएको छ।

उपभोक्ता अधिकारकर्मीहरूले बारम्बार चेतावनी दिँदा पनि सुधार नदेखिएकाले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गर्ने व्यवसायमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। विभागले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित पोस्टहरुः