वीरगंज, जेठ २४ –
सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सिंगा ओभल मैदानमा आइतबार भएको खेलमा ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बमले अविजित ४४ तथा रोहित पौडेलले अविजित २१ रन बनाए।
यसअघि टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट भएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले ३८ रन बनाए। नेपालका करण केसीले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए।
नेपालले अब फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलमा पुगेका चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्।






