फिफा विश्वकप २०२६: प्रविधि र नयाँ नियमसहितको ऐतिहासिक संस्करण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २४ –

फिफा विश्वकप २०२६ सुरु हुन चार दिन मात्रै बाँकी रहँदा यसपटकको प्रतियोगिता इतिहासकै सबैभन्दा फरक र प्रविधिमैत्री संस्करण हुने भएको छ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगितामा ४८ राष्ट्रको सहभागिता रहनेछ।

३९ दिनसम्म चल्ने प्रतियोगितामा खेलको गुणस्तर, निर्णय प्रक्रिया र दर्शक अनुभव सुधार गर्न फिफाले विभिन्न नयाँ प्रविधि र नियमहरू लागू गरेको छ।

यसपटक ‘ट्रियोन्डा’ नामक सेन्सरयुक्त म्याच बल प्रयोग हुनेछ, जसमा जडान गरिएको इनर्सियल मेजरमेन्ट युनिटले प्रति सेकेन्ड सयौँ पटक डेटा संकलन गरी भिएआर प्रणालीलाई वास्तविक समयमा सहयोग गर्नेछ। यसले अफसाइडलगायत निर्णयहरू अझ सटीक बनाउन मद्दत गर्नेछ।

त्यसैगरी एआई प्रविधिबाट खेलाडीहरूको थ्रीडी अवतार तयार गरिनेछ, जसले अर्ध–स्वचालित अफसाइड प्रणालीलाई थप प्रभावकारी बनाउनेछ। खेलाडीको डिजिटल स्क्यानमार्फत अत्यन्त सटीक मोडेल तयार गरी प्रसारणमा समेत प्रयोग गरिनेछ।

सुरक्षाका लागि रोबोट कुकुरहरूको प्रयोग पनि हुने भएको छ, जसले जोखिमपूर्ण क्षेत्रमा निगरानी गर्दै प्रत्यक्ष भिडियो प्रसारणमार्फत सुरक्षाकर्मीलाई सहयोग गर्नेछ।

अफसाइड निर्णयलाई छिटो र सटीक बनाउन एडभान्स सेमी–अटोमेटेड अफसाइड प्रविधि लागू गरिएको छ। यसले १० सेन्टिमिटरभन्दा बढीको अफसाइड अवस्था पनि तुरुन्तै संकेत गर्नेछ।

त्यस्तै खेलाडीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रत्येक हाफमा अनिवार्य तीन मिनेटको हाइड्रेसन ब्रेक पनि लागू गरिएको छ।

फिफा विश्वकप २०२६ लाई प्रविधि, सुरक्षा र खेल अनुभवका हिसाबले अहिलेसम्मकै आधुनिक संस्करणका रूपमा हेरिएको छ।

सम्बन्धित पोस्टहरुः