वीरगंज, २४ जेठ । २५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साविक धोरे–८ (हाल पकाहामैनपुर गाउँपालिका–१) निवासी २६ वर्षीया रावती भन्ने रीना देवीको घरेलु विवादका क्रममा घाँटी थिची हत्या गरिएको घटनामा संलग्न रहेका प्रतिवादी काशीप्रसाद चौहानलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
२०५८ साल मंसिर २६ गते बिहान करिब ८ बजे भएको उक्त घटनापछि चौहान फरार रहँदै आएका थिए। लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आफ्नै घरठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
पकाहामैनपुर गाउँपालिका–१ निवासी ५० वर्षीय चौहानलाई जेठ २४ गते बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउपछि उनलाई कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।






