विज्ञापन नीतिविरुद्ध पर्साका सञ्चारकर्मीको हस्ताक्षरसहित ज्ञापनपत्र

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २५ –

सूचना तथा विज्ञापनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै पर्साका सञ्चारकर्मी तथा सरोकारवालाले हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष पठाएका छन्।

नेपाल पत्रकार महासंघ पर्साको नेतृत्वमा सञ्चालन गरिएको हस्ताक्षर अभियानअन्तर्गत संकलित ज्ञापनपत्र सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री कार्यालय पठाइएको हो। महासंघ पर्साका सचिव विजय महतोको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा र विनोद प्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएको थियो।

ज्ञापनपत्रमा हालको विज्ञापन तथा सूचना वितरण नीति मोफसलका सञ्चारमाध्यमप्रति विभेदकारी रहेको उल्लेख गर्दै त्यसको पुनरावलोकन तथा संशोधन गर्न माग गरिएको छ। सञ्चारकर्मीहरूले उक्त नीतिले स्थानीय पत्रपत्रिका, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमको अस्तित्वमा असर पर्ने बताएका छन्।

महासंघका प्रतिनिधिहरूले सञ्चार क्षेत्रसँग पर्याप्त परामर्शबिना नीति लागू गरिएको भन्दै सरोकारवालाको सहभागितामा संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, प्रेस स्वतन्त्रता, समान अवसर र सञ्चार क्षेत्रको दिगो विकास सुनिश्चित हुने गरी नीति परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व संस्थापक अध्यक्ष शंकर खतिवडासहित विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः