वीरगंज, जेठ २५ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको नयाँ जिल्ला नेतृत्व चयनका लागि हुने निर्वाचनमा सभापति पदमा दुई सांसदबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
जिल्ला सभापति पदका लागि प्रतिनिधिसभा सदस्य हरि पन्त र सुशिलकुमार कानुले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय पर्साका अनुसार दुवै उम्मेदवारले आफ्ना–आफ्ना प्यानलसहित निर्वाचनमा भाग लिएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबार बिहान पौने ९ बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको थियो। मनोनयन दर्ता सम्पन्न भएपछि अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जनाइएको छ।
उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले कार्यकर्तासँग भेटघाट, छलफल तथा समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्। जिल्ला नेतृत्वका लागि दुई सांसद नै आमनेसामने भएपछि निर्वाचनलाई पार्टीभित्रको प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
रास्वपा पर्साको नेतृत्व कसको हातमा पुग्छ भन्ने विषयले जिल्लाको राजनीतिक वृत्तमा चासो बढाएको छ।







